फिल्म नि:शुल्क, निर्माताको सेयरमा बृद्धि

![]() |
नेपाल चलचित्र संघले हालै फिल्म निर्माताले पाउने सेयरमा बृद्धि गर्ने निर्णय गरेको छ । मंसीर १ गते संघको कार्य समिति निर्णयले मल्टिप्लेक्समा प्रदर्शित फिल्मको पहिलो साता निर्माताले व्यापारको ५० प्रतिशत, दोस्रो साता ४२ दशमलव ५ प्रतिशत र प्रदर्शनको तेस्रो सातामा ३७ दशमलव ५ प्रतिशत सेयर पाउने व्यवस्था गरेको हो ।
चौथो साता वा सोभन्दा बढी चल्ने फिल्मका हकमा ३० प्रतिशत उपलब्ध गराउन चलचित्र संघ राजी भएको छ । यसअघि चलचित्र विकास बोर्डले फिल्म प्रदर्शन बापतको सेयर बाँडफाँडमा एकरुपता र जायज नभएको भन्दै संघलाई पत्राचार गरेपछि पछिल्लो निर्णय आएको हो । हालसम्म मल्टिप्लेक्सले रिलिजको पहिलो साता ४५ प्रतिशत र त्यसपछि हरेक साता त्यसमा पाँच प्रतिशत कम सेयर निर्मातालाई दिँदै आएको थियो ।
‘अब हामी संघसँग बसेर यसको अन्तिम निर्णय गर्नेछौं,’ बोर्ड अध्यक्ष राजकुमार राईले कान्तिपुरसँग भने, ‘जे होस्, चलचित्र संघको पछिल्लो निर्णय सकारात्मक छ ।’ त्यसैगरी संघ आफ्ना हलमा लाग्ने फिल्मको दुई साता नि:शुल्क हल प्रोमो देखाउने सहमत भएको छ । निर्णयमा भनिएको छ, ‘मल्टिप्लेक्स चलचित्र भवनहरुमा प्रदर्शन गरिने स्वदेशी चलचित्रहरुको दुई हप्तासम्म नि:शुल्क विज्ञापन प्रदर्शन गरी सहयोग गर्ने ।’ मल्टिप्लेक्स हलका लागि गरिएका उक्त दुई निर्णयलाई संघले देशभरका मल्टिप्लेक्सलाई पनि परिपत्र गरिसकेको जनाएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...