नेपाल एकीकरणपूर्वका ऐतिहासिक महत्वका हातहतियार नष्ट हुँदैहरु (भीडियो)

![]() |
म्याग्दीको ताकम गाविस–९ मा अवस्थित ताकमकोतमा राखिएका ऐतिहासिक महत्वका हातहतियार नष्ट हुन थालेका छन् ।
नेपाल एकीकरणपूर्वको तत्कालीन पर्वत राज्य अन्तर्गत थापा राजाले राज्य सञ्चालन गरेको ताकमकोतमा भण्डारण गरिएका ऐतिहासिक महत्वका युद्ध सामाग्री र हतियार नष्ट हुन थालेका हुन् । ताकमकोतमा रहेका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हतियार, पुराना भाडाहरु संरक्षण नहुँदा खिया लागेर पहिचान गर्नसमेत कठिनाई हुन थालेको अन्नपूर्ण जगन्नाथ कोतपुजा सञ्चालन तथा गुठी व्यवस्थापन समितिका सदस्य रमाकान्त पौडेलले बताए । भौगोलिक विकटताका कारण दुर्गम स्थानमा अवस्थित ताकमकोतको संरक्षणमा सरकारी निकायले उपेक्षा गरेको पौडेलको भनाई छ ।
हतियारका साथै सुरुङ, छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, ईंटा, बंकर, ओदान, मन्दिर, मुर्ती, फलामको छाता, माटोको शंख, खानी, तामाका खड्कुला, कोइलाटा, गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाहा स्वरुपको ढुंगा लगायत ताकमकोतमा रहेका इतिहासका साक्षीहरु संरक्षणको पर्खाइमा छन् । ताकमकोतको भवन र सँगै रहेको जगन्नाथको मन्दिर पनि मर्मत सम्भारको अभावमा जीर्ण बनेका छन् ।
पाँच सय बर्ष पहिले जुम्लाबाट आएका थापा थरका व्यक्तिहरुले तत्कालीन पर्वत राज्यका राजासँग मिलेर १८४८ सालसम्म ताकमकोतबाट राज्य सञ्चालन गरेका इतिहास छ । करिब ३० वर्ष पहिलेसम्म ताकमकोतमा स्थायी रुपमा पुजारी बसेर नियमित पुजाआजा गर्दथे । लुटेराले कोतका बहुमूल्य मुर्ति चोरी गरेपछि असुरक्षाको महशुस गरी ताकमकोतमा नियमित बसेर पुजाआजा र संरक्षण गर्न नसकिएको पुजारीको भनाई छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...