-->
ओेखलढुंगाका महिला हलो जोत्दै ओखलढुङ्गाका महिला भन्छन आफ्नो काम गर्न असजिलो मान्नुहुन्न

अहिले म खुसी छु । मेरा छोरीहरू नै हलो जोत्छन्, अरूलाई गुहार्नुपर्दैन,’ ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–५ शीतलपुर गाउँकी कमला राई आफ्ना छोरीहरूले हलो जोत्न थालेपछिको खुसी सबैलाई बाँड्दै हिँड्छिन् । राईका पाँच छोरी छन् । छोरा जन्माउने आशामा लगातार उनका पाँच छोरी जन्मिएका हुन् ।  अहिले पुरुषको आस नगरी उनीहरू आफ्नो खेतबारी आफँै जोत्छन् । कमला राईकी जेठी छोरी शान्तिले सबभन्दा पहिला हलो जोत्न सुरु गरेकी हुन् । सुरुसुरुमा गाह्रो भए पनि नयाँ काम भएकाले अहिले रमाइलो लाग्न थालेको उनकोे भनाइ छ । ‘घाँस काट्न र भारी बोक्न जति सजिलो हुन्छ त्यति नै सजिलो त होइन,’ हलो जोताइको आफ्नो अनुभवबारे शान्ति भन्छिन्, ‘प्रायः पुरुषले मात्र गर्ने काम भएकाले सुरुमा अप्ठ्यारो लागे पनि बिस्तारै आफैँलाई साहसीजस्तो लाग्दो रहेछ ।’  

कतिको घरमा छोरा नहुने, धेरैको घरमा पुरुष विदेश जाने चलन भएकाले ओखलढुङ्गाका धेरै महिलाले आफ्नो खेतबारी आफँै जोत्न थालेका छन् । कमलाकै छिमेकी बिन्दा राई पनि आफ्नो खेत आफैँ जोत्ने गर्छिन् । बिन्दा भन्छिन्, ‘त्यसै त छोरा नभएको घरपरिवारलाई हेप्छन् । के हेपिएर बस्नु भनेर हलो जोत्नेदेखि अन्न थन्क्याउने कामसम्म हामी दिदीबहिनी मिलेर गर्छौं । कुनै पुरुषसँग गुहार माग्दैनाँै ।’ बिन्दाकी दिदी माइली भन्छिन्, ‘महिलाले पनि हलो जोत्न सक्छन् भन्ने सुनेका थियौँ । परिस्थिति आइपरेपछि आफैँले पनि त्यो काम गर्न सकिँदोरहेछ ।’  ओखलढुङ्गा जिल्लाको उँवु गाविसका करिब २५ प्रतिशत महिलाले हलो जोत्ने गरेको जिल्लास्तरीय आमा समूह सञ्जालका सचिव सविता राई बताउँछिन् । आफ्नो खेतबारी आफैँले जोत्ने गरेको बताउने सविता भन्छिन्, ‘मेरो खेतबारी म आफैँ जोत्छु ।’ उनका भनाइमा महिलाले हलो जोत्नुमा दुईवटा सन्देश छन् । पहिलो, खेत जोत्ने काम पुरुषको अभावमा रोकिँदैन र दोस्रो, पूर्वीपहाडका महिला कृषिक्रान्तिमा लागेका छन् ।  पहाडी जिल्लाका धेरै पुरुष वैदेशिक रोजगारीमा गएका कारण खेतबारीदेखि बच्चा र बूढाबूढीको हेरचाहसम्मको जिम्मेवारी महिलाले सम्हालेका छन् । 

वर्षौंदेखि घर–व्यवहार धानेका ओखलढुङ्गाका महिलाले हलोजुवा काँधमा बोक्नुलाई कुनै बोझको रूपमा नलिएको सबिता बताउँछिन् । ‘आँट गरे त सकिनेरहेछ नि,’ सबिताले भनिन्, ‘यस्ता अरू थुप्रै काम छन् जो महिलाले आँट नगरेका कारण पुरुषले मात्र गर्न सक्छन् भन्ने मानसिकता समाजले पालेको छ ।’ सुरुसुरुमा काँधमा हलो र जुवा बोकेर हलगोरु खेदेर जोत्न हिँड्दा काँध दुख्ने, बेलुका घर फर्कंदा धेरै थकाइ लागेको महसुस भए तापनि अहिले बानी पर्दै गएको उनीहरू बताउँछन् । यहाँका महिला जोत्ने मौसममा हलगोरु खेदेर काँधमा हलोजुवा बोकेर खेतबारीमा गई आफैँले गोरु नारेर सरासर जोत्न सक्छन् । ‘अब त बानी परियो,’ जिल्लाको पश्चिमी क्षेत्र बरुणेश्वर गाविसकी एक महिला भन्छिन्, ‘गाउँलेका खिसी पनि सकिए । देवर–जेठाजुका हेलाहोचो पनि सकिए । अब ढुक्कले हलो जोतो खायो भएको छ ।’ महिलाले जोत्ने काम गरेको देख्दा आफूलाई गर्व लागेको बताउँछन् स्थानीय शिक्षक महाजित राई । महिला र पुरुष समान हुन् भन्ने बलियो प्रमाण यो कामले देखाएको उनको भनाइ छ । ‘महिला र पुरुष समान हुन् भन्ने प्रमाण खोज्न ओखलढुङ्गा आउनुपर्छ,’ शिक्षक राई भन्छन्, ‘यहाँका गाउँमा जोत्नेदेखि दाइँ गर्ने र भारी बोक्नेसम्म सबै काम महिलाले नै धानेका छन् ।’ 


 सिद्धिचरण नगरपालिका–३ का ८५ वर्षिय समाजसेवी गणेशबहादुर श्रेष्ठ भन्छन्, ‘पहिले महिलाले खेतबारी जोतेमा उब्जनी हुने शक्तिमा कमी आउँछ, जग्गाको उर्वराशक्ति घट्छ भन्थे र महिलालाई जोत्न दिँदैनथे । तर, अहिले त आँखैअगाडि महिलाले जोतेर बाली लगाएको देख्दा यो सब गलत रहेछ भन्ने देखियो ।’ महिलाले प्रयोग गर्ने कृषि औजारको खरिदमा सहुलियत दिनुपर्ने माग महिलाको छ । कृषक बिन्दा राई भन्छिन्, ‘हाम्रो खेतबारीमा अहिलेसम्म कृषिका कोही पनि कर्मचारी आइपुगेका छैनन् । हामीलाई उत्साह दिन सरकारले हलो जोत्ने महिलाका लागि कार्यक्रम ल्याउनुपर्छ । तर, अहिलेसम्म जिल्ला कृषि विकास कार्यालयका हाकिमले महिलाले हलो जोतेको थाहा नपाउनु दुःखको कुरा हो ।’ 

यो अभियानलाई कतिपयले ओखलढुङ्गाका महिलामा आफ्नो काम गर्न असजिलो मान्नुहुन्न भन्ने भावना विकास हँुदै गएको भनेर पनि बुझेका छन् । हुन पनि महिलाले खेत जोतेमा बारी मर्छ, उर्वराशक्तिमा ह्रास आउँछ, उब्जनी हुन्न भन्ने भनाइलाई गलत सावित गर्दै सक्रिय रूपमा खेतबारी जोतेर पैसा फलाइरहेका छन् यहाँका महिला । छोरा नजन्मिएको, पुरुष कामको खोजीमा घरबाहिर गएको घरपरिवारमा पनि खासै समस्या छैन अब । जिल्लास्तरीय आमा समूह सञ्जाल ओखलढुङ्गाको सचिव सविता राई भन्छिन्, ‘पुरुषहरू बिदेसिए, खेती गर्नैप¥यो । जोतिरहेका छौँ र जोतिरहन्छाँ ।’    (सञ्चारिका फिचर सेवा)   -



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.