मादलजस्तै बज्छ पाल्पामा ढुङ्गा,

![]() |
तेल्घा–४ गुफाचौरमा गुफामा ढुङ्गाले हान्दा मादलजस्तो बज्ने गरेको छ । ढुङ्गाले हान्दा मादलजस्तो ट्वाङ् टवाङ् गर्ने भएपछि मानिसले त्यसलाई निकै चाखलाग्दो गरी हान्ने गरेको स्थानीयवासी चिन्ताबहादुर कार्कीले बताउनुभयो ।
हाँगाजस्तै बाहिर निस्केको ढुङ्गाको भित्री भागमा खाली भएकाले नै मादल जस्तो बज्ने गरेको भनाइ पाइन्छ । उहाँले भन्नुभयो–“पहिला गुफा नै थियाे, हामीहरु स्कुलबाट हेर्न भनी आउने गर्दथ्यौँ, अहिले पुरिएछ ।” गुफाको ढुङ्गा हाँगाजस्तो बाहिर निस्केको छ, जुन हाँगालाई मानिसले हान्दै आएका छन् । तानसेनदेखि १० किलोमिटर दक्षिणमा अवस्थित सो मादलजस्तो ढुङ्गा बज्ने भएपनि यसको प्रचारप्रसार हुन नसकेको स्थानीय बासिन्दा कार्कीको भनाइ छ ।
प्रचारप्रसारको अभावमा यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन सकेको छैन । यहाँबाट जिल्ला सदरमुकाम तानसेन र सुन्दर माडीफाँटको दृश्यालोकन गर्न सकिने शीतल जलवायु भएकाले गर्मीका समयमा पर्यटक आकर्षण गर्न सकिनेछ । यो गुफा १८ फिट अग्लो र आठ फिट चौडाइ भएको र सो स्थानमा गणेशको मूर्ति स्थापना हुने भएको छ ।
भुरे राजाले राज्य गरेकाले पनि यो क्षेत्र अत्यन्त महत्वपूर्ण भएकाले यस क्षेत्रको विकास गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ । गुफाचौरमा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने सम्भावना रहेपनि त्यहाँ पुग्न पर्यटकका लागि सडकको उचित व्यवस्था छैन । खानेपानीको समस्या गाउँलेले समेत भोग्दै आएकाले गुफाचौरमा पानीको समस्या उस्तै रहेको स्थानीयवासी कृष्ण राना बताउनुहुन्छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...