ग्यासको विकल्पमा यस्तो अायो कराईको (भिडियो)

![]() |
लगातार भइरहेको इन्धन अभावका कारण सर्वसाधारणले खाना बनाउन विद्युतीय उपकरणको प्रयोग बढाएका छन्। इन्डक्सन चुल्हो, राइस कुकर, पानी तताउने मग लगायत विद्युतीय उपकरणको माग बढ्दै गएको सम्बद्ध व्यवसायीहरु बताउँछन्।
व्यवसायीहरुका अनुसार यी विद्युतीय उपकरणहरुका बीच ‘स्टिमरसहितको इलेक्ट्रिक कराई’ निकै लोकप्रिय बनेको छ। नाकाबन्दीअघि बजारमा यस्तो कराईको उपलव्धता र माग नभए पनि अहिले भने यस्तो कराई निकै सुविधायुक्त देखिएको प्रयोगकर्ताले जनाएका छन्।
विद्युतीय कराईमा तरकारी, दाल जस्ता परिकार पकाउन मिल्ने सुविधाका साथै यसमा रहेको स्टिमरका मद्दतले तरकारी पकाउँदा पकाउँदै अन्य खानेकुरालाई उसिन्न पनि मिल्छ।
यसको प्रयोगमा विद्युतको खपत बढी नहुने व्यापारीहरु बताउँछन्। हानाबिसी ब्राण्डको यो इलेक्ट्रिक कराई थाइल्यान्डबाट आयात गर्ने गरिन्छ। १५ सय वाट क्षमताको विद्युतीय कराईमा कम्पनीबाट १ वर्षको वारेन्टी समेत रहेको छ। विद्युतीय कराई दुई प्रकारमा उपलब्ध रहेका छन्।
एक मोडलमा, कराई र स्टिमर रहेको छ भने अर्को मोडेलमा कराई मात्र रहेको छ। स्टिमरसहितको कराईको मूल्य ५ हजार ५ सय रुपैयाँ रहेको छ। स्टिमर नभएको कराईको मूल्य ५ हजार रुपैयाँ रहेको छ। ५० डिग्रीदेखि २ सय डिग्री सम्मको तापक्रममा यी विद्युतीय कराईलाई प्रयोग गर्न सकिन्छ।
‘बजारमा इन्धन अभाव भएका समयमा खाना पकाउन विद्युतीय उपकरणहरुले निकै सहजता तुल्याएको छ,’ नापतौल बजार कालीमाटीकी म्यानेजर मेनुका भण्डारीले भनिन्, ‘मानिससरु खाना पकाउने विद्युतीय उपकरणतर्फ आकर्षित हुँदै गएका छन्। हालै बजारमा आएको विद्युतीय कराईको प्रयोगले पनि मानिसहरुलाई निकै सजिलो गरेको छ।’
आफूहरुले यस्तो कराई ल्याएको करिब डेढ महिना मात्रै भएको र अन्य कराईको तुलनामा विद्युतीय कराईको माग अत्याधिक रहेको जानकारी दिइन्। उनी भन्छिन् ‘ग्राहकहरु सामान किन्न आउँदा यो नौलो प्रकारको उपकरण देखेपछि यसका बारेमा चासो राख्छन्। यसको विशेषताका बारेमा थाहा पाएपछि यस्तो कराईलाई किनेर लैजान्छन्।’
ग्यासको विकल्पका रुपमा प्रयोग गर्न सकिने भएकाले मानिसहरुको यस्तो विद्युतीय कराई तर्फ आकर्षण बढेको र इन्धन अभावका समयमा मात्र नभइ दिर्घकालीन रुपमा पनि यसको प्रयोग गर्न मिल्ने भण्डारीले बताइन्।
नापतौल बजारमा सामान खरिद गर्न आएकी अनामनगरकी कल्पना बरालले भनिन्, ‘मलाई यस्तो विद्युतीय कराई छ भन्ने थाहा नै थिएन ।’ उनले विद्युतीय कराईको बारेमा जानकारी लिएपछि कराई किनेर लैजाने निधो गरिन्। उनले भनिन्, ‘यसले समय पनि बचत गर्ने भएकाले यो निकै उपयोगी छ। यसमा भात पकाउन मिल्ने सुविधा भएको भए झनै राम्रो हुने थियो।’ भात राइस कुकरमा पकाउने र दाल तरकार यसमा पकाउनेगरी आफूले ग्यासको विकल्प तय गरेको उनले बताइन्।
विद्युतीय कराईमा दाल पकाउँदा पकाउँदै तरकारी पनि उसिन्न सकिन्छ र उसिनेको तरकारीमा स्वादअनुसारको मरमसला राखेर खान सकिन्छ। व्यापारीहरुका अनुसार विद्युतीय कराई प्रयोग गर्न निकै सहज रहेको छ। तर यसलाई प्रयोग गर्दा केही कुरा ध्यान दिनु पर्ने हुन्छ। कराईलाई धुँदा निकै ध्यान दिनु पर्छ। कराई निकाल्न मिल्ने भएकाले सफा गर्दा पनि भित्र पस्ने सम्भाना हुन्छ। त्यसैले कराईलाई चिसो कपडाले सफा पर्ने हुन्छ।



0 comments
प्रतिक्रिया दिनुहोस्...